के तपाइ घर बनाउँदै हुनुहुन्छ र घरको भुईँमा टाइल, मार्बल र ग्रिनाइड के लगाउने भन्ने बारेमा दुबिधामा हुनुहुन्छ ? आउनुहोस् आज तपाईँलाई हामी यी तिन मध्ये तपाइको घरको कुन स्थानको भुईँमा के लगाउने भन्ने प्रश्नको जवाफ खोज्न मद्दत गर्नेछौँ ।

ग्रिनाइड
सबैभन्दा पहिला हामी ग्रिनाइडको बारेमा चर्चा गरौँ । ग्रिनाइड एउटा कडा र लामो समय सम्म टिक्ने पत्थर हो । साधारण तया यसको कडापन नाप्नको लागि Mohs Hardness Scale प्रयोग गरिन्छ । यसमा कडापनको मात्रा मापन गर्न १ देखि १० सम्मका अङ्क रहेको हुन्छ र यस स्केलद्वारा कुनै पनि चिजको कडापन मापन गरिन्छ । यस स्केलमा तल्लो अङ्क १ ले कुनै पनि बस्तुको तल्लो कडापन र १० अङ्कले सबैभन्दा बढी कडापन भन्ने जनाउँदछ । यो मोह स्केलमा ग्रिनाइडको मापन अङ्क ७ हुन्छ भने डायमन्डको १० अङ्क हुन्छ । त्यसैले तपाइहरू सबैलाई पक्कै पनि थाहा हुनु पर्छ कि डायमन्ड सबैभन्दा कडा पत्थर हो । यसै बाट थाहा हुन्छ कि ग्रिनाइड कत्तिको कडा हुन्छ ।
अब तपाईँलाई थाहा भयो कि ग्रिनाइड कति कडा हुन्छ । आउनुहोस् अब हामी तपाईँलाई घरको कुन स्थानमा ग्रिनाइड लगाउन उपयुक्त हुन्छ त्यसको बारेमा जानकारी दिन्छौँ । साधरणतया घरको पोर्च, गाडी पार्किङ क्षेत्रमा ग्रिनाइड लगाउन उपयुक्त मानिन्छ । दोस्रो, घरको सिँढी । घरको सिँढीमा तपाइ मार्बल पनि लगाउन सक्नुहुन्छ तर मार्बल लगाइसकेपछि त्यसलाई घोट्नुपर्ने हुँदा कुना कुनामा घोट्न समस्या हुन्छ । यही कारणले सिँढीमा ग्रिनाइड लगाउनु उत्तम हुन्छ । किनकि ग्रिनाइड बजार बाट किनेर ल्याउँदा पहिल्यै चिल्लो पारिएको हुन्छ र त्यसलाई तपाइ आफ्नो साइज अनुसार काटेर सिधै लगाउन सक्नुहुन्छ । लगाइसकेपछि त्यसलाई घोट्नुपर्ने आवश्यकता पर्दैन । तर यसमा तपाइले ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने यसको जोइन्ट भएको स्थानमा बराबरको लेबलमा जोइन्ट गर्नु पर्दछ । किनकि जोइन्ट थोरै मात्र तल माथि भयो भने त्यो खुट्टामा लाग्न सक्दछ । साथै त्यसको फिनिसिङ पनि राम्रो देखिँदैन । तर मार्बलमा भने लेबलमा तल माथि भएता पनि घोटेर एउटै लेबलमा ल्याउन सकिन्छ । तर ग्रिनाइडमा घोट्न नमिल्ने हुँदा लगाउँदा नै लेबल मिलाएर लगाउनु पर्ने हुन्छ ।
यदि तपाइ ग्रिनाइड खरिद गर्दै हुनुहुन्छ भने यसका बारेमा केही आधारभूत जानकारी हुन जरुरी हुन्छ । सबै भन्दा पहिलो कुरा त यसको मूल्य हो । यसको मूल्य मार्बलको तुलनामा महँगो हुन्छ । बजारमा यो विभिन्न रङ्गमा उपलब्ध हुन्छ । यसको रङ्गको यसको मूल्य निर्धारण गरेको हुन्छ । जस्तो कि यसको सेतो, रोजी पिङ्क तथा हल्का रङको मूल्य कम पर्दछ भने गाढा कालो, खैरो, रातो रङ्गको मूल्य बढी पर्दछ । जुन कुनै रङको भएता पनि कडापन एउटै हुन्छ मात्र रङ्गको आधारमा मूल्य कम र धेरै पर्ने हुन्छ । तपाईँलाई थाहा नहुन सक्छ कि ज्वालामुखी विस्फोटबाट निस्केको लार्भा चिसो भई जमेको पत्थर वाट ग्रिनाइड बन्दछ । यो Quartz +Feldspar मिलेर ग्रिनाइड बन्दछ । यही कारणले गर्दा ग्रिनाइडमा एसिड वा केमिकल पर्दा कुनै असर पर्दैन । त्यस कारण हामी तपाईँलाई यो सल्लाह दिन्छौ कि किचनको स्लाब बनाउँदा ग्रिनाइड नै लगाउनुहोस् । यसमा कागतीको रस, भिनेगर, एसिड पर्दा असर गर्दैन ।
ग्रिनाइडमा एउटा सानो समस्या हुन्छ जसलाई तपाइले ध्यान दिनुपर्ने हुन्छ । त्यो हो यसको चिल्लोपन । यसको कारणले सिँढीमा चिप्लने सम्भावना हुने हुँदा टेक्ने ठाउँमा डिजाइनदार ग्रिप बनाउँदा उपयुक्त हुन्छ । यसको अर्को बेफाइदा भनेको यो केही महँगो पत्थर हो । यसको सुरुवाती मूल्य जो कसैलाई मन नपर्न सक्दछ । किनकि सुरुवाती मूल्यका ग्रिनाइड हल्का रङ्गको हुने हुँदा जो कसैलाई यो मन नपर्न पनि सक्दछ । साथै तपाईँलाई मन पर्ने रङको मूल्य महँगो पर्दछ । आजकाल बजारमा व्यापारीहरूले धेरै नाफा कमाउन उद्देश्यले सस्तो रङ्गको मार्बलमा गाढा रङ लेपन गरेर बेच्ने गर्दछन् । तपाईँलाई लाग्न सक्छ कि कम मूल्यमा गाढा रङको ग्रिनाइड पाए। तर त्यस किसिमको ग्रिनाइड केही समय पश्चात् त्यसको रङ्ग हराएर हल्का रङ्गमा परिणत हुन्छ । यहाँ हामीले तपाईँलाई नेचुरल रङ छुट्टाउने तरीका बताउँदै छौँ । जुन ग्रिनाइड नेचुरल रङको हुन्छ त्यसको अगाडी र पछाडिको रङ एउटै हुन्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको ग्रिनाइडको प्रकार हो । खरिद गर्दा यकिन हुनु पर्दछ कि त्यो राजस्थानको ग्रिनाइड हो या साउथको ग्रिनाइड हो ।
मार्बल
मार्बल चुन ढुङ्गाबाट बनेको पत्थर हो । यसको कडापन Mohs Hardness Scale मा ३ देखि ५ को बिचमा हुन्छ । यसबाट थाहा हुन्छ कि ग्रिनाइड र मार्बल कुनमा बढी कडापन हुन्छ । यसको अर्थ यो हो कि ग्रिनाइडको तुलना मार्बल कम कडा हुन्छ । आउनुहोस् अब मार्बल कहाँ कहाँ लगाउन सकिन्छ त्यसको बारेमा चर्चा गरौँ । यो पनि ग्रिनाइड जस्तै प्राकृतिक पत्थर हो । तर यो चिसो हुन्छ । तपाईँलाई लाग्न सक्छ कि यो चिसो किन हुन्छ ? किनकि यो चुन ढुङ्गाबाट बनेको हुँदा यसले चिसोपन रोकेर राख्दछ । यसै कारणले गर्दा गर्मी हुने स्थानमा मार्बल लगाउनु उपयुक्त हुन्छ ।
मार्बल प्राकृतिक ढुङ्गाबाट बनेको हुँदा जुन स्थानमा लगाइन्छ त्यो भाग आकर्षक देखिन्छ । मार्बल किन्दा तपाईँलाई मन पर्ने रङ छनोट गरेर लगाउनुहुन्छ । तर त्यसलाई घोट्दा अर्कै रङको बन्न जान्छ । त्यस कारण तपाइ मार्बल किन्न जाँदै हुनुहुन्छ भने मार्बल सम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिलाई सँगै जानु उपयुक्त हुन्छ । मार्बलको मूल्यको अवस्था हेर्ने हो भने ग्रिनाइडको तुलना कम मूल्यमा पाइन्छ । यसको मूल्य ग्रिनाइडको भन्दा उल्टो हुन्छ अर्थात् गाढा रङको ग्रिनाइडको मूल्य महँगो हुन्छ भने गाढा रङ्गको मार्बलको कम मूल्य हुन्छ । त्यस्तै हल्का वा सेतो रङको मूल्य महँगो हुन्छ । मार्बलको गुणस्तरको चर्चा गर्दा यसमा चाँडो फोहर देखिने, कोरिने हुन्छ भने लगाउनका लागि पनि धेरै समय लाग्ने हुन्छ । किनकि मार्बल लगाइसकेपछि घोट्न पनि त्यत्तिकै समय लाग्दछ । मार्बलको अर्को नकारात्मक पक्ष भनेको यसमा एसिड, भिनेगर, तेल पर्यो भने यसमा प्रतिक्रिया भएर दाग बस्दछ । यसको अर्को पक्ष कोरिएको दाग लागेको स्थानमा पुनः घोटी नयाँ र चम्किलो बनाउन सकिन्छ तर बारम्बार घोट्नका लागि समस्या हुन सक्दछ । यदि तपाइको घरको स्थानमा १२ महिना नै चिसो हुन्छ भने त्यस स्थानमा यो लगाउन उपयुक्त हुँदैन ।
टाइल
बजारमा धेरै प्रकारका टाइलहरू पाइन्छन् । जस्तो कि सेरामीक टाइल, पोर्सिलेन टाइल, सिमेन्ट टाइल, मार्बल टाइल, ग्लास टाइल आदि । त्यस भित्र पनि सिङ्गल चार्जर, डबल चार्जर , फुल बडी । टाइल निश्चित तापक्रममा पकाएर निर्माण गरिन्छ । यसलाई पकाउँदा धेरै मात्रामा कार्बन डाइअक्साइड वातावरणमा फैलिन्छ । यो हाम्रो पर्यावरणको लागि राम्रो होइन । टाइलको कडापनको तुलना गर्दा टाइल प्रकाश पर्ने कोठामा लगाउँदा यसले कोठाको तापक्रम बढाउने गर्दछ । यसको मुख्य फाइदाको चर्चा गर्दा यो निकै कम समयमा धरै स्थानमा लगाउन सकिन्छ । तपाइले मार्बल लगाउनुभयो भने त्यसले धेरै लिने गर्दछ । चाँडो निर्माण सम्पन्न गर्नका लागि आजकाल टाइलको प्रयोग धेरै मात्रामा गर्ने गरिन्छ । मानै यदि तपाइ आफ्नो कोठामा तपाईँलाई मन परेको टाइल लगाउनु भयो ३, ४ वर्ष पछि कुनै यौटा भाग चर्कियो र त्यसलाई बदल्न खोज्नुभयो भने त्यो बजारमा उपलब्ध नहुन सक्छ किनकि टाइल कम्पनीले त्यस किसिमको टाइल उत्पादन बन्द गरिसकेको हुन सक्दछ, यस्तो अवस्थामा तपाइले सबै टाइललाई निकाली नयाँ टाइल लगाउनु पर्ने हुन्छ । यो यसको अर्को बेफाइदा हो । अव लागौँ यसको मूल्य तर्फ । यो मार्बलको तुलना कम मूल्यमा बजारमा पाइन्छ । तर मूल्य टाइलको प्रकार र आकारमा भर पर्दछ ।