Categories
ब्लग

घर बनाउनका लागि कुन जग्गा उपयुक्त होला ? कसरी थाहा पाउने ?

Spread the love

वास्तु शब्दको अर्थ हुन्छ बस्ने ठाउँ भन्ने हुन्छ । कुनै पनि स्थानको जमिन घरका लागि कति समयको लागि टिक्छ भन्ने कुरा त्यहाँ वनेको घरको आकार र जमिनलाई हेरेर थाहा हुन्छ । अर्थात् घरको ज्यामितिलाई हेरेर थाहा हुन्छ । वास्तु शास्त्रको गहिरो अध्ययन तथा ज्ञान भएका व्यक्तिले कुनै पनि घरको बनावट तथा त्यसको आकार लाई तथा त्यसको ज्यामितिलाई हेरेर त्यो घरमा बस्ने व्यक्तिहरूलाई के कस्तो रोग छ भनेर पत्ता लगाउन सक्छन् ।
सकारात्मक ज्यामितिले बनेको घरमा सकारात्मक ऊर्जा प्रवेश हुन्छ जसले गर्दा त्यस घरका सदस्यहरूमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । उदाहरणका लागि हामी कुनै पनि चिज आकाशमा छोडिदिन्छाैं भने त्यो भुईँमा खस्ने गर्दछ किनकि त्यसलाई गुरुत्वाकर्षणले आफू तर्फ आकर्षण गरेको हुन्छ । यदि हामीले घरमा चारै पट्टी पर्खाल लगाएका छौँ र माथि छत छ भने त्यस घरमा तनाव हुने गर्दछ । अर्थात् घर सही ज्यामितिलाई मध्ये जन गरी बनाइएको छैन भने त्यसले तनाव उत्पन्न गर्दछ । जमिन पनि सकारात्मक र नकारात्मक ऊर्जा भएको हुने गर्दछ ।
तसर्थ घर बनाउनु भन्दा पहिले जमिन कस्तो छ भनेर जान्नु आवश्यक छ । त्यसका लागि वास्तु अनुसार जमिनको परीक्षण वा जमिनमा वास्तु अनुसार कस्तो किसिमको ऊर्जा छ भनेर परीक्षण नगरीकन घर बनाउँदा त्यसले जीवनमा नकारात्मक परिणाम निम्त्याउन सक्छ । जस्तो कि घर भासिने, बाढी पैरो जाने, परिवारमा तनाव तथा नकारात्मक असरहरू देखिने हुन्छन् । यदि तपाइले जमिनको परीक्षण नगरी घर बनाउनुहुन्छ भने घरमा अनेक कलह झगडा हुने गर्दछ । यदि सकारात्मक भूमि छ भने सकारात्मकता फैलाउने गर्दछ । सकारात्मकता हुने बित्तिकै घरमा धन प्राप्त हुन थाल्दछ, काम गर्ने ऊर्जा आउँछ । जसले काम गर्दछ उसले फल पाउँदछ ।

घरका लागि उपयुक्त जमिन कसरी थाहा पाउने ?

१. पहिलो तरिका

यदि तपाइले घरका लागि जमिन खरिद गरिसक्नुभएको छ भने त्यसको अवस्था र त्यसमा रहेको सकारात्मक वा नकारात्मक ऊर्जाको अवस्था परीक्षण गरेर मात्र घर बनाउन उपयुक्त हुन्छ । अथवा तपाइ कुनै जमिन किन्दै हुनुहुन्छ भने पहिला जमिनको परीक्षण गरेर मात्र किन्नुहोस् त्यसका लागि तपाइ स्वयमले परीक्षण गर्न सक्नुहुनेछ । त्यसका लागि सर्व प्रथम तपाइले तपाइले किन्दै गरेको जमिनमा एक हात लम्बाइ एक हात चौडाइ र एक हात गहिराइ भएको खाल्डो खन्नुहोस् । अब त्यो खनेको माटो पुनः खाडलमा राखेर पुर्नुहोस् । यसरी माटो खाडलमा राखेर पुर्दा माटो केही मात्रामा बचेको छ भने मान्नुहोस् कि त्यो जमिन घर निर्माणका लागि उपयुक्त छ । खाल्डोमा माटो बराबर भयो भने त्यो मध्यम किसिमको घडेरी हो । यदि माटो खाल्डो भन्दा कम भयो भने त्यो जग्गा घरका लागि अनुपयुक्त हुन्छ अर्थात् त्यो जमिन अधम भूमि हो । खाल्डो पुरेर बचेको जमिनको माटो खदिंलो छ भने त्यो जमिन बस्नका लागि सर्वोत्कृष्ट हुन्छ ।

२. दोस्रो तरिका

यस विधि पनि तपाइ स्वयमले जमिनको परीक्षण गर्न सक्नुहुन्छ । माथिको विधिमा जस्तै पहिला १ हात लम्बाइ, १ हात चौडा र १ हात गहिराइ भएको खाडल खन्नुहोस् र त्यस खाल्डो पानीले भर्नुहोस् । अब तपाइ त्यो खाल्डो देखि उत्तर तर्फ १०० पाइला गनेर हिँड्नुहोस् र फेरी फर्केर खाडल भएको ठाउँमा आउनुहोस् र खाडलमा भएको पानीको अवस्था जाँच गर्नुहोस् । यदि खाडलमा पानीको मात्रा घटेको छैन भने त्यो जमिन घरका लागि सबैभन्दा उत्तम मानिन्छ । यदि पानी घटेर आधा भएको छ भने त्यो जमिन मध्यम खालको मानिन्छ । त्यस्तै खाडलमा पानी घटेर एकदमै कम भएको छ भने त्यो जमिन उत्तम मानिँदैन अर्थात् त्यो भूमि अधम हो, त्यस भूमिमा नकारात्मक ऊर्जा हुन्छ त्यहाँ बस्नु उपयुक्त हुँदैन।

३. तेस्रो तरिका

जुन भूमिमा तपाइ घर बनाउँदै हुनुहुन्छ त्यस भूमिका खन्दा, कोइला, फलाम, कपाल, हड्डी, भूस आदि भेटिन्छ भने त्यो एकदमै नकारात्मक भूमि हो ।  यस किसिमका भूमिमा बसोबास गर्दा रोगको वृद्धि हुने गर्दछ ।घरको जग खन्दा सग्लो इँटा वा ढुङ्गा भेटिन्छ भने त्यो जमिन उत्तम मानिन्छ ।

४. चौथो तरिका

यदि जमिनको सतह पूर्व, ईशान र उत्तर दिशामा कोल्टिएको छ थोरै ओरालो छ भने त्यस किसिमको जमिन बसोबासका लागि एकदमै उत्तम हुन्छ । अर्थात् सम्पूर्ण दृष्टिकोणबाट उत्तम हुन्छ त्यस्तो भूमिमा बस्दा एकदमै लाभ प्राप्त हुन्छ । यदि नैऋृत्य, पश्चिम, वायव्य र  बिचमा खाल्डो छ, थोरै उँधो झुकेको जमिन छ भने त्यस्तो किसिमको जमिन नराम्रो र नकारात्मक ऊर्जा भएको जमिन मानिन्छ । दक्षिण र आग्नेय , उत्तर र वायव्य दिशामा उँचा जमिन छ भने डाँडो जमिन छ भने त्यस्तो जमिन रोगको कारक मानिन्छ ।

५. पाचाैं तरिका

यस तरिकमा जमिनको माटोको सुगन्ध सुँघेर माटोको परीक्षण गरिन्छ । यदि जमिनको माटोलाई सुँघ्दा राम्रो सुगन्ध छ भने त्यो जमिन राम्रो मानिन्छ । यदि सुगन्ध नराम्रो छ भने त्यो जमिन नराम्रो मानिन्छ ।

६. छैटौँ तरिका

यस तरिकामा तपाइ रुद्राक्षको मालाको प्रयोग गरेर माटोको अवस्था परीक्षण गर्न सक्नुहुन्छ । सर्वप्रथम  थोरै माटो खनेर सफा बनाउनुहोस् त्यसपछि रुद्राक्षको माला लिई सुमेरु अर्थात् मालाको फुर्कामा समाउनुहोस्। अनि जमिनको माटो माथि राख्नुहोस्, यदि मालाको फेद दाइने घुम्छ भने त्यो जमिन सकारात्मक ऊर्जा भएको जमिन हो । यदि माला उल्टो अर्थात् देब्रे घुम्छ भने त्यो नकारात्मक भूमि हो । घरको आग्नेय दिशामा कहिले पनि बर पिपलको बोट रोप्नु हुँदैन । जुन घरमा कोला, अनार, पिपल र निम्बू आदि घरको छेवैमा रोपिएका छन् भने त्यो घरमा कहिल्यै पनि श्री वृद्धि हुँदैन । यस्ता वृक्षहरू घरको छेउमा राम्रो हुँदैन । छेउमा भएको निम्बूले घरमा नकारात्मक ऊर्जा ल्याउँछ ।

माथि उल्लेख गरिएका उपायहरू तपाइ स्वयम प्रयोग गरी वास्तु अनुरूपका जमिन छ छैन भनी परीक्षण गर्न सक्नुहुन्छ । जीवनमा एक पटक बनाउने घरमा वास्तु लाई ध्यानमा राखी निर्माण गर्दा त्यसले जीवनमा सकारात्मक ऊर्जा ल्याउँछ र  श्री वृद्धि गर्दछ । त्यसका लागि घर बनाउनु अघि माथि उल्लेख गरेका उपायहरू अपनाइ वा नजिकका वास्तु विज्ञको सल्लाह बमोजिम घर बनाउनु नै उत्तम हुन्छ ।