Categories
ब्लग

घर बनाउनका लागि कुन जग्गा उपयुक्त होला ? कसरी थाहा पाउने ?

वास्तु शब्दको अर्थ हुन्छ बस्ने ठाउँ भन्ने हुन्छ । कुनै पनि स्थानको जमिन घरका लागि कति समयको लागि टिक्छ भन्ने कुरा त्यहाँ वनेको घरको आकार र जमिनलाई हेरेर थाहा हुन्छ । अर्थात् घरको ज्यामितिलाई हेरेर थाहा हुन्छ । वास्तु शास्त्रको गहिरो अध्ययन तथा ज्ञान भएका व्यक्तिले कुनै पनि घरको बनावट तथा त्यसको आकार लाई तथा त्यसको ज्यामितिलाई हेरेर त्यो घरमा बस्ने व्यक्तिहरूलाई के कस्तो रोग छ भनेर पत्ता लगाउन सक्छन् ।
सकारात्मक ज्यामितिले बनेको घरमा सकारात्मक ऊर्जा प्रवेश हुन्छ जसले गर्दा त्यस घरका सदस्यहरूमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । उदाहरणका लागि हामी कुनै पनि चिज आकाशमा छोडिदिन्छाैं भने त्यो भुईँमा खस्ने गर्दछ किनकि त्यसलाई गुरुत्वाकर्षणले आफू तर्फ आकर्षण गरेको हुन्छ । यदि हामीले घरमा चारै पट्टी पर्खाल लगाएका छौँ र माथि छत छ भने त्यस घरमा तनाव हुने गर्दछ । अर्थात् घर सही ज्यामितिलाई मध्ये जन गरी बनाइएको छैन भने त्यसले तनाव उत्पन्न गर्दछ । जमिन पनि सकारात्मक र नकारात्मक ऊर्जा भएको हुने गर्दछ ।
तसर्थ घर बनाउनु भन्दा पहिले जमिन कस्तो छ भनेर जान्नु आवश्यक छ । त्यसका लागि वास्तु अनुसार जमिनको परीक्षण वा जमिनमा वास्तु अनुसार कस्तो किसिमको ऊर्जा छ भनेर परीक्षण नगरीकन घर बनाउँदा त्यसले जीवनमा नकारात्मक परिणाम निम्त्याउन सक्छ । जस्तो कि घर भासिने, बाढी पैरो जाने, परिवारमा तनाव तथा नकारात्मक असरहरू देखिने हुन्छन् । यदि तपाइले जमिनको परीक्षण नगरी घर बनाउनुहुन्छ भने घरमा अनेक कलह झगडा हुने गर्दछ । यदि सकारात्मक भूमि छ भने सकारात्मकता फैलाउने गर्दछ । सकारात्मकता हुने बित्तिकै घरमा धन प्राप्त हुन थाल्दछ, काम गर्ने ऊर्जा आउँछ । जसले काम गर्दछ उसले फल पाउँदछ ।

घरका लागि उपयुक्त जमिन कसरी थाहा पाउने ?

१. पहिलो तरिका

यदि तपाइले घरका लागि जमिन खरिद गरिसक्नुभएको छ भने त्यसको अवस्था र त्यसमा रहेको सकारात्मक वा नकारात्मक ऊर्जाको अवस्था परीक्षण गरेर मात्र घर बनाउन उपयुक्त हुन्छ । अथवा तपाइ कुनै जमिन किन्दै हुनुहुन्छ भने पहिला जमिनको परीक्षण गरेर मात्र किन्नुहोस् त्यसका लागि तपाइ स्वयमले परीक्षण गर्न सक्नुहुनेछ । त्यसका लागि सर्व प्रथम तपाइले तपाइले किन्दै गरेको जमिनमा एक हात लम्बाइ एक हात चौडाइ र एक हात गहिराइ भएको खाल्डो खन्नुहोस् । अब त्यो खनेको माटो पुनः खाडलमा राखेर पुर्नुहोस् । यसरी माटो खाडलमा राखेर पुर्दा माटो केही मात्रामा बचेको छ भने मान्नुहोस् कि त्यो जमिन घर निर्माणका लागि उपयुक्त छ । खाल्डोमा माटो बराबर भयो भने त्यो मध्यम किसिमको घडेरी हो । यदि माटो खाल्डो भन्दा कम भयो भने त्यो जग्गा घरका लागि अनुपयुक्त हुन्छ अर्थात् त्यो जमिन अधम भूमि हो । खाल्डो पुरेर बचेको जमिनको माटो खदिंलो छ भने त्यो जमिन बस्नका लागि सर्वोत्कृष्ट हुन्छ ।

२. दोस्रो तरिका

यस विधि पनि तपाइ स्वयमले जमिनको परीक्षण गर्न सक्नुहुन्छ । माथिको विधिमा जस्तै पहिला १ हात लम्बाइ, १ हात चौडा र १ हात गहिराइ भएको खाडल खन्नुहोस् र त्यस खाल्डो पानीले भर्नुहोस् । अब तपाइ त्यो खाल्डो देखि उत्तर तर्फ १०० पाइला गनेर हिँड्नुहोस् र फेरी फर्केर खाडल भएको ठाउँमा आउनुहोस् र खाडलमा भएको पानीको अवस्था जाँच गर्नुहोस् । यदि खाडलमा पानीको मात्रा घटेको छैन भने त्यो जमिन घरका लागि सबैभन्दा उत्तम मानिन्छ । यदि पानी घटेर आधा भएको छ भने त्यो जमिन मध्यम खालको मानिन्छ । त्यस्तै खाडलमा पानी घटेर एकदमै कम भएको छ भने त्यो जमिन उत्तम मानिँदैन अर्थात् त्यो भूमि अधम हो, त्यस भूमिमा नकारात्मक ऊर्जा हुन्छ त्यहाँ बस्नु उपयुक्त हुँदैन।

३. तेस्रो तरिका

जुन भूमिमा तपाइ घर बनाउँदै हुनुहुन्छ त्यस भूमिका खन्दा, कोइला, फलाम, कपाल, हड्डी, भूस आदि भेटिन्छ भने त्यो एकदमै नकारात्मक भूमि हो ।  यस किसिमका भूमिमा बसोबास गर्दा रोगको वृद्धि हुने गर्दछ ।घरको जग खन्दा सग्लो इँटा वा ढुङ्गा भेटिन्छ भने त्यो जमिन उत्तम मानिन्छ ।

४. चौथो तरिका

यदि जमिनको सतह पूर्व, ईशान र उत्तर दिशामा कोल्टिएको छ थोरै ओरालो छ भने त्यस किसिमको जमिन बसोबासका लागि एकदमै उत्तम हुन्छ । अर्थात् सम्पूर्ण दृष्टिकोणबाट उत्तम हुन्छ त्यस्तो भूमिमा बस्दा एकदमै लाभ प्राप्त हुन्छ । यदि नैऋृत्य, पश्चिम, वायव्य र  बिचमा खाल्डो छ, थोरै उँधो झुकेको जमिन छ भने त्यस्तो किसिमको जमिन नराम्रो र नकारात्मक ऊर्जा भएको जमिन मानिन्छ । दक्षिण र आग्नेय , उत्तर र वायव्य दिशामा उँचा जमिन छ भने डाँडो जमिन छ भने त्यस्तो जमिन रोगको कारक मानिन्छ ।

५. पाचाैं तरिका

यस तरिकमा जमिनको माटोको सुगन्ध सुँघेर माटोको परीक्षण गरिन्छ । यदि जमिनको माटोलाई सुँघ्दा राम्रो सुगन्ध छ भने त्यो जमिन राम्रो मानिन्छ । यदि सुगन्ध नराम्रो छ भने त्यो जमिन नराम्रो मानिन्छ ।

६. छैटौँ तरिका

यस तरिकामा तपाइ रुद्राक्षको मालाको प्रयोग गरेर माटोको अवस्था परीक्षण गर्न सक्नुहुन्छ । सर्वप्रथम  थोरै माटो खनेर सफा बनाउनुहोस् त्यसपछि रुद्राक्षको माला लिई सुमेरु अर्थात् मालाको फुर्कामा समाउनुहोस्। अनि जमिनको माटो माथि राख्नुहोस्, यदि मालाको फेद दाइने घुम्छ भने त्यो जमिन सकारात्मक ऊर्जा भएको जमिन हो । यदि माला उल्टो अर्थात् देब्रे घुम्छ भने त्यो नकारात्मक भूमि हो । घरको आग्नेय दिशामा कहिले पनि बर पिपलको बोट रोप्नु हुँदैन । जुन घरमा कोला, अनार, पिपल र निम्बू आदि घरको छेवैमा रोपिएका छन् भने त्यो घरमा कहिल्यै पनि श्री वृद्धि हुँदैन । यस्ता वृक्षहरू घरको छेउमा राम्रो हुँदैन । छेउमा भएको निम्बूले घरमा नकारात्मक ऊर्जा ल्याउँछ ।

माथि उल्लेख गरिएका उपायहरू तपाइ स्वयम प्रयोग गरी वास्तु अनुरूपका जमिन छ छैन भनी परीक्षण गर्न सक्नुहुन्छ । जीवनमा एक पटक बनाउने घरमा वास्तु लाई ध्यानमा राखी निर्माण गर्दा त्यसले जीवनमा सकारात्मक ऊर्जा ल्याउँछ र  श्री वृद्धि गर्दछ । त्यसका लागि घर बनाउनु अघि माथि उल्लेख गरेका उपायहरू अपनाइ वा नजिकका वास्तु विज्ञको सल्लाह बमोजिम घर बनाउनु नै उत्तम हुन्छ ।

Categories
ब्लग

वास्तु अनुसार घर निर्माण गर्दा जान्नै पर्ने १२ तत्थ्यहरू

घर बनाउनु अघि वास्तु हेराउनु पर्छ भन्ने गरिन्छ । आजको यस आधुनिक युग सँग सँगै आधुनिक घर निर्माण गर्ने होडबाजी चलेको विद्यमान परिस्थितिमा हामीलाई वास्तु भन्नासाथ आडम्बर हो यो देखाउने पना हो जस्तो पनि लाग्न सक्छ । तर त्यसो पक्कै होइन, वास्तुले हाम्रो घरमा निकै ठुलो असर पुर्‍याइरहेको हुन्छ । वास्तु अनुरूप निर्माण गरिएका घरले धेरै नै महत्त्व राख्दछ । वास्तु शास्त्रले परिवारको स्वास्थ्य, शिक्षा, खुसी, उन्नति, प्रगति, पेसा र व्यवसायमा प्रत्यक्ष महत्त्व राख्दछ । वास्तुलाई हामी परम्पराको रूपमा मात्र लिइरहेको हुन्छौ तर यसलाई हेक्का भने राखेका हुँदैनाैं । तसर्थ आजको यस लेखमा हामी तपाइले बनाउँदै गरेको घरमा के कसरी वस्तु शास्त्रको नियम अनुसार घर निर्माण गर्ने आदि प्रश्नको जवाफ खोज्ने प्रयास गर्दैछाैं ।

वास्तु आफैमा एक विज्ञान पनि हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो घरबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिन्छ । वास्तु शास्त्रले घर निर्माण गर्दा यसका केही नियम वा मापदण्डहरू निर्देश गर्छ त्यस्तै गरी आधुनिक विज्ञानले निर्देश गरेको हुन्छ ।अर्थात् घर कुन दिसामा फर्केको? कति झ्याल ढोका भएको ? कस्तो आकार प्रकारको बनाउने भन्ने कुराले घरको गुणस्तर र टिकाउलाई बुझाउँदछ भने उक्त कुराहरू कुन कुन दिसामा राख्ने भन्ने कुरा वास्तु शास्त्रलाइ बुझाउँदछ ।

घर बनाउनु अघि माटो पनि हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातक कति बलियो छ भन्ने हो वैज्ञानिक रूपमा साथै कुन दिशामा फर्किएको घर राम्रो भन्ने वास्तु विज्ञानमा स्पष्ट हुन्छ । यसले आफूले निर्माण गर्ने घर आपसमा बहकिने हावा, घामको प्रकाश आदिलाई मध्यनजर हुन्छ त्यसैले वास्तु विज्ञानलाई उपेक्षा होइन बरु यसको बारेमा बुझ्ने प्रयास गर्नु पर्दछ । घर, पसल वा प्लट खरिद गर्नु अघि त्यसको बनावट, वातावरण, धरातल मूलभूत ढाँचाको समीक्षा पनि हेर्नु पर्ने हुन्छ । जग्गाको छनोट गर्न त्यति सजिलो छैन जति हामी ठान्ने गर्दछौँ । तर घर निर्माण गर्दा वास्तुले निर्धारण गरेका १२ वटा नियमले तपाइले याद गर्नुपर्ने हुन्छ ।

वास्तु शास्त्रको घर निर्माण गर्दा जान्नै पर्ने १२ तत्थ्यहरू

१. घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्दछ । अर्थात् तपाइका घरका सबै कोठाहरूमा कतै न कतै वाट प्रकाश छिर्नुपर्ने हुन्छ । ताजा हावाको अोहोर दोहोर पनि हुनु पर्दछ ।यस्तो घरमा सबै परिवार खुसी रहन्छन् ।

२. वास्तु अनुसार शयन कक्ष अथवा वेडरूम यस्तो हुनुपर्छ कि सुतेको समय खुट्टा उत्तर दिसा र टाउको दक्षिण दिसामा होस् । कुनै पनि कोठामा सुतेको समयमा व्यक्तिको खुट्टा ढोका तर्फ हुनु हुँदैन ।

३.  वास्तु अनुसार शौचालय अथवा बाथरुम पश्चिम दक्षिण दिसामा राख्नु भयो भने उचित हुने गर्दछ ।

४. वास्तु अनुसार तपाइको किचन वा भान्सा घर आग्नेय कोण अर्थात् पूर्व र दक्षिण बिचको कोणलाई जनाउँदछ । खाना खाएको समयमा पूर्व वा उत्तर तर्फ फर्किएको भए झनै राम्रो हुन्छ । तसर्थ तपाइ खाना खाने समयमा तपाइको डाइनिङ टेबलमा बसी खाना खाँदा उत्तर तर्फ बसी खाना खाँदा तपाइमा सकारात्मक ऊर्जा सञ्चार गर्ने गर्दछ ।

५. जुन ठाउँमा घर बनाउँदै हुनुहुन्छ त्यसको वर पर ग्यारेज, वर्कसप, फलाम सम्बन्धी काम टुक्रा टुक्री हुने अर्थात् ढल निकासको एरिया छ भने उक्त स्थानलाई वास्तुले घर निर्माणका लागि उपयुक्त स्थान मान्दैन ।

६. तपाइ धेरै गहिरो ठाउँमा घर बनाउँदै हुनुहुन्छ भने त्यस्तो ठाउँ घर निर्माणका लागि उपयुक्त हुँदैन । हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि वास्तु र विज्ञान दुवैले उपयुक्त हुन्छ ।

७. कहिले पनि त्रिभुज आकारको जग्गा खरिद नगर्नु उपयुक्त हुन्छ । अर्थात् ३ कोण भएको घर बनाउन उपयुक्त हुँदैन । वास्तुका लागि उपयुक्त जग्गा वर्गाकारको हुनुपर्दछ । यसको अर्थ वर्गाकार घरमा सम्पूर्ण कुराहरू मिलाएर बनाउन सकिन्छ । वास्तु अनुसारको घर बनाउँदा पनि सबै कोणहरूमा आफ्नो आफ्नो स्थानमा बस्ने वास्तुले गर्दा तपाइको घर वर्गाकार जग्गामा उचित हुन्छ ।

८. बस्तु अनुसार भान्सा बगैँचा मुख्य ढोका अगाडि बनाउनु उपयुक्त मानिँदैन ।  यदि घर देखि छुट्टै स्थानमा भान्सा घर बनाउँदै हुनुहुन्छ भने त्यस्तो ठाउँको अगाडी बगैँचा वा मूल ढोकाको अगाडी पनि बगैँचा नबनाउनुहोला ।

९. तपाइको मूल ढोकाको सामुन्ने पर्खाल पनि हुनु हुँदैन । कुनै अग्लो पर्खालले तपाइको मूल डोकालाई छेकेको छ भने वास्तुको दृष्टिले उक्त स्थान योग्य मानिँदैन ।

१०. सार्वजनिक टङ्कीको छाया पर्ने स्थानमा घर बनाउनु पनि वास्तु अनुसार उपयुक्त मानिँदैन । अर्थात् तपाइको घरमा कुनै अग्लो बस्तुको छाया बनेको छ भने पनि त्यस्तो ठाउँमा पनि घर बनाउनु उपयुक्त मानिँदैन ।

११. वास्तु अनुसार दुई वटा ठुला घरहरूको बिचमा पनि घर बनाउनु हुँदैन । सहरी क्षेत्रमा यस्तो समस्या हुने भएता पनि यो कुर्लाइ मध्यनजर गरी घर निर्माण गर्नुहोला ।

१२. यदि कुनै गल्ली वा आवास को अन्तिममा रहेको घर किन्नुहुन्छ वा निर्माण गर्नुहुन्छ भने उक्त स्थानलाई वास्तुका दृष्टिले उपयुक्त मानिँदैन । साथै सडकको किनारमा बनेको घर पनि शुभ मानिँदैन । वास्तु र विज्ञान दुवै हिसाबले कुनै पनि प्लटको अन्तिम स्थानको घर वा घडेरी उपयुक्त मानिँदैन ।

जीवनमा प्राय व्यक्तिले एक पटक बनाउने घर गाउँपालिका वा नगरपालिकाले तोकेको नियमलाई मानेर नै घर बनाउनुपर्ने हुन्छ । घर बनाउँदा घरमा नभै नहुने झ्याल, ढोका, किचन, ट्वाइलेट, बाथरुम, टङ्की, गेट, पार्किङ, बेडरूम, बैठक आदि कुराहरू बनाउनु पर्ने नै हुन्छ । यदि यी कुराहरूको निर्माण गर्दा वास्तुको नियमलाई पनि मध्यनजर गर्दा तपाइको घरको कति पनि लगत मूल्य बढ्दैन बरु वास्तु अनुरूप घर निर्माण भएमा घर परिवारमा सुख, शान्ति, स्वास्थ्य, उन्नति र प्रगतिको अवसर प्राप्त हुन सक्दछ ।

Categories
ब्लग

घडेरी किन्दा ध्यान दिनु पर्ने १० महत्वपूर्ण कुरा

घर बनाउनका लागि कस्तो घडेरी किन्ने ? तपाइले घर बनाउन लाग्नुभएको घडेरी कस्तो हुनुपर्दछ ? अथवा तपाइले घर बनाउने सोचमा हुनुहुन्छ र घडेरी कस्तो किसिमको किन्ने भन्ने सोच्दै हुनुहुन्छ भने आज हामी तपाईँलाई घर बनाउँदा कस्तो घडेरी उपयुक्त हुन्छ त्यसको बारेमा १० जानकारी प्रदान गर्दैछाैं ।

घडेरी किन्दा ध्यान दिनुपर्ने १० अति महत्त्वपूर्ण कुराहरू

१. घडेरी सँग जोडिएको बाटोको चौडाइ

सबै भन्दा पहिले त तपाइले घडेरी किन्दै गरेको घडेरीको अगाडी बाटोको चौडाइ कति छ त्यसको बारेमा तपाइ जानकार हुनु पर्दछ । तपाइले किन्ने घडेरीको बाटो कम्तीमा पनि ६ मिटरको बाटो हुनु पर्दछ । अर्थात् ६ मिटरको बाटो छोडेर १.५ मिटरको सेटव्याक छोड्न पुग्ने गरी निर्माण हुने घरका लागि पर्याप्त जग्गा हुनु पर्दछ । यदि तपाइको घडेरी र बाटोको नाप जाँच गर्दा बचेको जग्गा घरका लागि  पर्याप्त हुँदैन भने घर निर्माण गर्नु उपयुक्त हुँदैन ।

२. न्यूनतम क्षेत्रफल र मोहडा

तपाइले किन्न घर निर्माण कालागि किन्न लागेको जग्गा वा घडेरीको न्यूनतम क्षेत्रफल कति छ  त्यो महत्त्वपूर्ण हुन्छ । घर निर्माणका लागि घडेरीको न्यूनतम साढे दुई आना २.५ आना वा ६ धुर हुनु पर्दछ । साथै जग्गाको मोहडा कम्तीमा १८ फुटको वा ६ मिटर भन्दा कम हुनु हुँदैन । १८ फिट भन्दा कम मोहडा भएको घडेरी उपयुक्त मानिँदैन ।

३. जग्गा कति भिरालो छ ?

तपाइको जग्गा कत्तीको भिरालो छ त्यसले घरको निर्माण मूल्यमा प्रत्यक्ष प्रभाव पार्दछ । यदि भिरालो जग्गामा घर बनाउँदै हुनुहुन्छ भने निर्माणको लागत मूल्य बढी पर्न जान्छ । तसर्थ घडेरी किन्दा समथर जमिनमा किन्नुहोला ।

४. जग्गाको ढल निकासको प्रावधान

तपाइको जग्गामा ढल छ कि छैन अथवा तपाइको जग्गामा पानीको निकास हुने प्रावधान छ कि छैन ? तपाइको घडेरी खोँचमा छ वा बाटोको लेभल भन्दा तल छ भने त्यहाँ पानीको निकास गराउन कठिन हुन्छ । तसर्थ घडेरी किन्दा ढल निकासको अवस्था कस्तो छ त्यो हेरेर मात्र खरिद गर्नुहोला ।

५. बाटोको र जग्गाको सतह

तपाइको जग्गा बाटोबाट कति माथि छ अथवा जग्गा कति लो ल्यान्डमा छ त्यो विशेष ध्यान दिनुपर्दछ । जग्गा बाटोको सतह वाट जति तल भयो त्यति नै घर निर्माणको लागत धेरै हुन जान्छ । अर्को कुरा यदि जग्गा सिमसार क्षेत्र वा बर्खाको समयमा डुबान पर्ने क्षेत्रमा त पर्दैन त्यो ध्यान दिन जरुरी हुन्छ । बाटो बाट जति बढी तल जग्गा छ त्यति धेरै बाटोको सतह सम्म उठाउनु पर्ने भएकोले घर निर्माण महँगो पर्न जान्छ ।

६. जग्गाको कानुनी पक्ष

तपाइले किन्न लाग्नुभएको जग्गाको कानुनी प्रावधान के के छ त्यो राम्रोसँग बुझ्नु पर्दछ । त्यो जग्गाको लालपुर्जा, ब्लु प्रिन्ट नक्सा, फिल्ड नक्सा सबै यकिन गरी हेर्नु पर्दछ । ब्लु प्रिन्ट नक्सा र वास्तविक जग्गा मिल्छ कि मिल्दैन त्यो हेर्नु जरुरी हुन्छ । यसरी हेर्दा जग्गाको बनावट १० देखि १५ प्रतिशत सम्म मिलेको छैन भने तपाइले नापी कार्यालयमा गई नाप जाँचको व्यवस्था गरी यकिन गरेर मात्र किन्नु पर्दछ । तपाइले किन्न लागेको जग्गाको नक्सा वरपर कुलो, राजकुलो वा गोरेटो बाटो हुन सक्दछ । जुन तपाइले किन्न लागेको जग्गामा नदेखिन सक्दछ । यस्तो अवस्थामा तपाइले ख्याल गरी नक्साको ब्लु प्रिन्ट वा कुनै प्राविधिकको सल्लाह अनुसार यकिन गर्न सक्नुहुनेछ । यो सँग सँगै तपाइले किन्न लाग्नु भएको जग्गा को व्यक्तिबाट कसरी पास भएर आएको छ यकिन गर्नु पर्दछ । जग्गा गुठीको हो वा व्यक्तिको हो यकिन हुनु पर्दछ ।

७. बिजुलीको प्रसारण लाइन

तपाइले किन्न लागेको जग्गाको वरिपरि हाई टेन्सन लाइन छ कि छैन यकिन गरी किन्नु पर्दछ । तपाइको जग्गाको छेउछाउमा हाई टेन्सन लाइन छ भने ३ वटा कुरामा ध्यान दिन जरुरी छ । त्यो हाई टेन्सन लाइन ११ के.भि.ए. भन्दा थोरै छ भने त्यो हाई टेन्सन लाइन वाट १.५ मिटर छोडेर मात्रै संरचना निर्माण गर्न सक्नुहुन्छ । यदि ११  देखि ३३ के.भि. ए. सम्मको छ  भने हाई टेन्सन लाइनबाट ३ मिटर छोड्नु पर्दछ । ३३ के.भि.ए.को लाइन भएको अवस्थामा सेन्टर वाट १५ मिटर टाढाको दुरीमा मात्र संरचना निर्माण गर्न सकिन्छ । जग्गा माथिबाटै हाई टेन्सन छ भने त्यो जग्गा नकिन्नुहोला  ।

८. नदी वा खोला किनार

तपाइको जग्गा खोलाको किनारमा छ भने खोलाको प्रकृति हेरी १० देखि ६९ मिटर सम्म  छोड्नु पर्ने हुन्छ । यदि तपाइले किन्न लागेको जग्गा खोला किनारमा भए यी कुरा ख्याल गर्नु पर्ने हुन्छ । यदि जग्गा खोला किनामा भए नापी वा नगरपालिकामा गएर राम्रो सँग बुझ्नु पर्दछ ।

९. जग्गा कुन जोनमा पर्दछ ?

कहिलेकाहीँ जग्गा किन्दा हामी हतारमा किन्छौ र किने पछि मात्रै थाहा हुन्छ कि यो क्षेत्र वा उपक्षेत्रमा पर्दो रहेछ  जसले गर्दा आफूले चाहे अनुरूपको संरचना निर्माण गर्न नपाउने रहेछु। त्यस कारण तपाइले नगरपालिकामा गएर तपाइले किन्न लाग्नु भएको क्षेत्र आवासीय, मिश्रित, व्यावसायिक, प्लानिङ, स्मार्ट सिटी वा त्यो क्षेत्रमा कुनै परियोजना आउँदै छ यकिन गर्नु पर्दछ । त्यस कारण तपाइले किनिसकेको जग्गामा तपाइले आफ्नो इच्छा अनुरूपको संरचना निर्माण गर्न नपाउने अवस्था आउन सक्दछ । सामान्यतया बसोबासका लागि निर्माण गरिने घरमा समस्या नआएता पनि अन्य संरचनाका लागि भने यकिन गरेर मात्र किन्नु उपयुक्त हुन्छ ।

१०. जग्गाको मोहडा

सामान्यतया जग्गाको मोहडा कुन दिशामा उपयुक्त हुन्छ त्यो भौगोलिक स्थान अनुसार फरक फरक हुने गर्दछ । तराइ क्षेत्रमा घर निर्माण गर्दै हुनुहुन्छ भने घर चिसो रहिरहने किसिम बाट निर्माण गर्नु पर्ने हुन्छ । त्यस कारण घामको विपरीत दिशामा घरको मोहडा बनाउनुपर्ने हुन्छ । यसो गर्दा घर सामान्यतया चिसो रहन्छ ।  यदि तराइमा घर निर्माणका लागि जग्गा किन्दै हुनुहुन्छ भने उत्तर फर्केको जग्गा उपयुक्त हुन्छ । त्यस्तै चिसो ठाउँमा भने घर लाई घाम तर्फ फर्काएर निर्माण गर्नु उपयुक्त हुन्छ । यसले गर्दा घर तातो रहन्छ । काठमाण्डाै तथा पहाडी चिसो क्षेत्रमा पूर्व वा दक्षिण फर्केको राम्रो मानिन्छ ।

तपाइ घडेरी किन्दै हुनुहुन्छ र घर निर्माण गर्ने सोचमा हुनुहुन्छ भने माथि उल्लेखित मुख्य १० कुरालाई मध्यनजर गरी किन्नुहोला । केही द्विविधा भए नजिकको नगरपालिकाका प्राविधिक तथा इन्जिनियरको सल्लाह बमोजिम खरिद गर्नुहोला ।

Categories
Uncategorized

घर बनाउँदा पालना गर्नु पर्ने नगरपालिका का ५ महत्त्वपूर्ण नियमहरू

तपाइको जग्गामा कस्तो घर बन्छ? कति तल्ला बनाउने ? कति कभर गर्ने? कत्रो बनाउने ? नगर पालिकाका नियमहरू के के हुन? तपाईँलाई घर बनाउनु अघि यी प्रश्नहरूले सताइरहेका हुन सक्छन् । आज हामी तपाईँलाई घरको नक्सा पास गर्दा ध्यान दिनुपर्ने ५ प्रमुख नियमहरूको बारेमा जानकारी दिँदै छौँ ।

१.  पहिलो नियम : Ground Coverage (घरले ओगट्ने अधिकतम क्षेत्रफल)

Ground Coverage भन्नाले तपाइले आफ्नो घडेरीको कति प्रतिशत भूभाग ओगटेर घर अथवा संरचना निर्माण गर्दा ओगटेर निर्माण गर्न पाउनुहुन्छ  हुनुहुन्छ त्यसको क्षेत्रफल हो । सबै भन्दा पहिले तपाइले ख्याल गर्नुपर्ने भनेको तपाइको घडेरीको पुरा क्षेत्रफल हो । यदि तपाइको घडेरीको क्षेत्रफल ८ आना सम्म छ भने तपाइले ७० प्रतिशत सम्म क्षेत्रफल ओगटेर घर निर्माण गर्न सक्नुहुन्छ । तर यदि तपाइको जग्गा ८ आना देखि १ रोपनी सम्म छ भने तपाइले ६० प्रतिशत सम्म कभर गरेर घर निर्माण गर्न सक्नुहुन्छ । यदि १ रोपनी भन्दा बढी छ भने ५० प्रतिशत मात्रै कभर गरेर घर निर्माण गर्न सक्नुहुन्छ । 

  • १ बिघा = २० कट्ठा = ६७७.६३ वर्ग मिटर= ७२९०० वर्ग फिट = १३.३१ रोपनी
  • १ कट्ठा = २० धुर  = ३३८.६३वर्ग मिटर = ३६४५वर्ग फिट
  • १ धुर = १६.९३ वर्ग मिटर= १८२.२५ वर्ग फिट
  • १ रोपनी = १६आना = ६४ पैसा = ५०८.७२वर्ग मिटर = ५४७६ वर्ग फिट  = १५६दाम = 4 llka
  • १ आना= ४ पैसा = ३१.८० वर्ग मिटर = ३४२.२५ वर्ग फिट = १६ दाम
  • १ पैसा = ४ दाम = ७.९५ वर्ग मिटर = ८५.५६ वर्ग फिट
  • १ दाम = १.९९ वर्ग मिटर= २१.३९वर्ग फिट

२. दोस्रो नियम : Floor Area Ratio (FAR)

FAR भन्नाले तपाइको जग्गाको क्षेत्रफल (Plot Area)  र घरको जग्गाको क्षेत्रफलको (Plinth Area) अनुपात हो । टोटल प्लिन्थ एरिया लाई  प्लट एरियाले भाग गरी FAR निकालिन्छ । उदाहरणका लागि तपाइको घर ३ तल्लाको छ र १ तल्लामा १००० वर्ग फिट छ भने तपाइको घरको Plinth Area ३०००  वर्ग फिट भयो । FAR सामान्यतया १.५ देखि ४.५ सम्म नेपालको हकमा । सामान्यतया बसोबासको क्षेत्रमा FAR १.७५ हुन्छ । यदि तपाइको १००० वर्ग फिटको जग्गा छ भने १७५० वर्ग फिट जग्गा प्रयोग गरेर घर बनाउन सक्नुहुन्छ ।

FAR = 1.75
Plot Area = 1000s s.f.
Building Area
=1.75×1000
=1750 s.f.

काठमाण्डाैको हकमा का.मा.न.पा.ले यदि तपाइले व्यावसायिक प्रयोजनकालागि घर निर्माण गर्दै हुनुहुन्छ भने ४.५ FAR सम्म प्रयोग गर्न सक्नुहुन्छ । तर त्यसका लागि केही प्रावधानहरू छन् । यदि तपाइको ४.५ फार भएको जग्गा छ भने तपाइले जग्गाको साढे ४ गुणा बढी क्षेत्रफल भएको घर बनाउन पाउनुहुन्छ ।  घरको पार्किङ, बेसमेन्ट, भर्‍याङको माथि भएको कभर, बाल्कोनी यी FAR मा गणना हुँदैन । यी बाहेक जति पिल्लर भित्र वाल लगाइएको हुन्छ FAR मा पर्दछन् । यो प्राविधिक कुरा भएको हुनाले थप जानकारीका लागि तपाइले इन्जिनियर सँग सल्लाह लिन सक्नुहुन्छ । त्यस कारण तपाइले चाहे जति जग्गामा घर निर्माण गर्न पाउनुहुन्न । नगरपालिकाले तोकेको नियम भित्र रहेर मात्र निर्माण गर्न पाउनुहुन्छ ।

३. तेस्रो नियम : Building Height (घर वा संरचनाको उचाइ)

तपाइको जग्गाको तुलनामा तपाइले कति तल्ला बनाउने भन्ने कुरा पनि नगरपालिकाको यो नियमले निर्धारण गरेको हुन्छ । सामान्यतया बसोबासको क्षेत्रमा निर्माण हुने घरको उँचाइ ३० देखि ४० फिट हुन्छ । अर्थात् साढे ३ या ४ तल्ला सम्म तपाइले बनाउन पाउनुहुन्छ त्यो भन्दा बढी बनाउन पाउनुहुन्न । व्यावसायिक तथा अपार्टमेन्टका लागि भने छुट्टै नियमहरू छन् । यदि तपाइको फार धेरै छ र ग्राउन्ड कभरेज थोरै गर्नुभएको छ भने तपाइले अधिकतम ४ तल्ला सम्मको घर बनाउन सक्नुहुन्छ ।

४. चौथो नियम : SetBack (बाटोको लागि छोड्नु पर्ने दुरी)

सेट ब्याक भन्नाले बाटो वाट घर सम्म छोड्नुपर्ने दुरी हो । यो सामान्य तया १.५ मिटर छोड्नुपर्ने हुन्छ । बाटो ६ मिटर पुर्‍याएर १.५ मिटर छोड्नु पर्दछ । यो नियम नगरपालिका वा सडक विभागले बाटो अनुरूप निर्धारण गरेका हुन्छन् ।

५. पाचाैं नियम : झ्याल राख्दा छोड्नुपर्ने दुरी

यदि तपाइले निर्माण गरेको घर वा संरचनामा झ्याल छ भने कम्तीमा ५ फिट अर्को टाँसिएको जग्गाबाट छोड्नुपर्ने हुन्छ ।

माथि उल्लेखित ५ नियमहरू नगरपालिका विशेष फरक फरक हुन्छन् । यो बाहेक घर तथा संरचना  निर्माण गर्दा अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ त्यसका लागि तपाइ घर निर्माण गर्ने प्राविधिकहरूको सल्लाह बमोजिम गर्न सक्नुहुन्छ ।

Categories
Uncategorized

घर निर्माणमा ACC Block वा इँटा कुन प्रयोग गर्ने?

अक्सर मानिसहरू घर निर्माण गर्दा द्विविधामा हुन्छन् कि घरको वालमा इँटा या ब्लकको प्रयोग गर्ने । तपाइ पनि घर निर्माण गर्ने सोचमा हुनुहुन्छ र घरको वालको विकल्प खोज्नु भएको छ भने आज यस लेखमा हामी तपाईँलाई वालको विकल्प मध्ये ACC block र इँटाको बारेमा जानकारी गराउँदै छौँ । त्यसकालागि तपाइले यो लेख पढ्नुपर्ने हुन्छ ।

ACC Block

ACC Blockको पुरा रूप Autoclaved Aerated Concreate Block हुन्छ । यो हलुङ्गो हुने भएकाले यसलाई उठाउन धेरै सजिलो हुन्छ । अर्थात् यसको आयतन धेरै तथा तौल कम हुन्छ । यसको आयाम ६००mm X २५०mm X१५०mm हुन्छ । सामान्यतया एक एसीसी ब्लकको तौल १४.२० केजी हुन्छ । यही आयतनमा इँटा सँग तुलना गर्ने हो भने इँटा ८ वटा इँटा पर्न जान्छ र तौल करिब ३५ के.जी हुन जान्छ । यसरी हेर्दा ब्लकको तौल भन्दा इँटाको तौल २ गुन बढी हुन जान्छ । यसले गर्दा हामीले निर्माण गर्ने संरचनाको भार इँटाको भन्दा २ गुना कम हुन आउँछ । यो आफ्नो हल्का वजनको कारण पानीमा डुब्दैन  र यो पानीको सतहमा तैरिन्छ। जबकि इँटालाई पानीमा राख्दा पानीमा डुब्दछ ।

लागत खर्चको हिसाब हेर्ने हो भने पनि इँटा जडानमा लाग्ने जनशक्ति भन्दा ACC ब्लकमा लाग्ने खर्च लाग्ने हुन्छ । १०X१० फिटको वालमा ५० वटा ब्लक आवश्यक पर्दछ भने इँटामा ५८५ ब्लक लाग्दछ । जोइन्टको सङ्ख्या हेर्ने हो भने ACC ब्लकमा १६२ जोइन्ट र १ बोरा सिमेन्ट लाग्दछ । त्यस्तै इँटमा १६५६ जाोइन्ट र २ बोरा सिमेन्ट लाग्दछ । यसरी हेर्दा ACC ब्लक प्रयोग गरी घर बनाउँदा धेरै मूल्य कम पर्न जान्छ ।

अब तपाईँलाई अर्को प्रश्न उठ्न सक्दछ कि  ACC ब्लकमा बिजुली र पानीको वाइरिङ्गका लागि कति उपयुक्त र सहज हुन्छ ? अवश्य पनि, ACC block सजिलै काट्न सकिन्छ जसले गर्दा वायरिङ र पाइप फिटिङ्गको काम गर्न कम समय लाग्दछ । जबकि रातो इँटा धेरै कडा भएकाले काट्न बढी समय लाग्ने , भित्ता पनि चर्कन तथा भत्कन सक्ने सम्भावना हुन्छ ।

ACC Block को साइज उत्पादन गर्ने कम्पनी अनुसार फरक फरक हुन जान्छ । तथापि सामान्य तया यसको साइज निम्नानुसारको हुने गर्दछ ।

  • ६००mm X २००mm X १००mm
  • ६००mm X २००mm X १५०mm
  • ६००mm X २००mm X २००mm
  • ६००mm X २००mm X २५०mm

इँटको साइज

  • २३०mm X १००mm X ७५mm

ACC Block को comprehensive strength 5n/mm2 हुन्छ भने इँटको 3.50n/mm2 हुन्छ । यसको अर्थ यो हो कि ACC block इँटको तुलनामा धेरै बलियो हुन्छ । त्यस्तै ACC ब्लकको आगो प्रतिरोधी क्षमता ४ घण्टाको हुन्छ भने इँटाको २ घण्टा मात्र हुन्छ ।

अन्त्यमा भन्नु पर्दा ACC block त्यस्तो स्थानमा प्रयोग गर्नु पर्दछ जहाँ ठुला ठुला गगनचुम्बी भवनहरू निर्माण गरिन्छ । किनकि यसले भवनको कुल भार कम गराउँदछ । इँट जुनसुकै निर्माणमा प्रयोग गर्न सकिन्छ । तपाइले ACC block प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने यसलाई कुनै संरचनाको फाउन्डेसन वाल र प्लसटर गरी ड्याम प्रुफ गर्ने स्थानमा प्रयोग गर्न सकिँदैन ।

Categories
Uncategorized

PVC UPVC CPVC पाइमा के फरक छ ?

PVC UPVC CPVC पाइप घर निर्माणको क्रममा प्रयोग हुने पाइपहरू हुन । घर बनाउने क्रममा तपाईँलाई दुबिधा हुन सक्दछ कि कुन प्रयोजनका लागि कस्तो प्रकारको पाइप प्रयोग गर्ने ? आजको यस लेखले हामी तपाइको दुबिधा हटाउने प्रयास गर्दछौ.

1. PVC

PVC को पुरा रूप Polyvinyl chloride हो । यो ज्यादा हलुङ्गो र बलियो सामाग्रीबाट बनेको हुन्छ । यसको निर्माणको क्रममा विभिन्न प्रकारको प्लास्टिसाइजर प्रयोग गरी निर्माण गरिएको हुन्छ । जसले गर्दा यो नरम र लचिलो हुन्छ । सामान्यतया घर निर्माणको क्रममा ढल निकासका लागि प्रयोग गरिन्छ । जुन घरमा जमिन भित्र विच्छाएर ढलको निकास निकालिन्छ । PVC पाइपमा बर्सातको पानी निकास, किचन तथा बाथरुमको फोहर पानी र शौचालयको ढलको निकासका लागि प्रयोग गरिन्छ ।

2. UPVC

यु पि भि सि UPVC को पुरा रूप Unplasticised Polyvinyl Chloride हो ।यस प्रकारको पाइप निर्माणमा प्लास्टिसाइजरको प्रयोग गरिँदैन त्यस कारण यसमा लचकपना हुँदैन र कडा हुन्छ । त्यस कारण यसको बलियोपना कडा किसिमको हुन्छ । यो पाइप पुनः प्रयोग गर्न मिल्ने किसिमबाट तयार गरिएको हुन्छ । यसलाई वातावरणले पनि प्रभाव पार्न सक्दैन । युपिभिसिलाइ मोइस्चरले पनि कुनै प्रभाव पर्दैन । कुने उद्योग तथा कलकारखाना बाट केमिकल निस्कने स्थानमा पनि यसको प्रयोग गर्न सकिन्छ । केमीकलले यसलाई कुनै किसिमको प्रभाव पार्दैन । त्यसैले यसलाई ठुला ठुला उद्योगहरूमा प्रयोग गरिन्छ ।

3. CPVC

सिपिभिसिको पुरा अर्थ Chlorinated Polyvinyl chloride . PVC मा प्लास्टिसाइजर र क्लोरिनेशन गरे पश्चात् सिपिभिसि पाइपको निर्माण हुने गर्दछ । यसको लचकपना राम्रो हुन्छ । PVC र UPVC पाइप भन्दा यो धेरै बलियो हुन्छ र मूल्यको हिसाबमा नि महँगो हुन्छ। यो उच्च गुणस्तरको हुन्छ । ज्यादा चिसो र ज्यादा तातो तापक्रम पनि सहन सक्ने क्षमता यसमा रहन्छ । यसले अधिक ९० डिग्री सेल्सियस र चिसोमा माइनस ४० डिग्री सेल्सियस तापक्रम सहन सक्ने क्षमता हुन्छ । यस किसिमको पाइप खास गरी घर निर्माणमा प्रयोग गरिन्छ ।

अन्त्यमा

पिभिसि पाइप घरको ढल निकासका लागि प्रयोग गरिन्छ । युपिभिसि पाइप उद्योगहरूमा केमिकल निकासका लागि प्रयोग गरिन्छ भने सिपिभिसि पाइप घरमा पानी वायरिङका लागि प्रयोग गरिन्छ ।

Categories
Uncategorized

घर निर्माणका लागि कुन सिमेन्ट उत्तम ? पिपिसि या ओपिसि

बजारमा घर निर्माणकालागि दुइ प्रकारका पिपिसि. र ओपिसि सिमेन्ट उपलब्ध छन् । तपाइ घर निर्माण गर्दै हुनुहुन्छ र कुन अवस्थामा कस्ताे प्रकारको सिमेन्ट प्रयोग गर्ने भन्ने जानकारी छैन भने अाज हामि तपाइलाइ यसबारे वृहद् जानकारी दिंदै छाैं । त्यसकालागि तपाइ यस ब्लगलाइ अन्तिम सम्म पढ्नुपर्ने हुन्छ ।

ओपिसि सिमेन्ट

ओ.पि.सि. पुरा नाम अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट हो । यसको प्रारंभिक शक्ति पीपीसी भन्दा उच्च हुन्छ । हाइड्रेशन प्रतिक्रियामा पीपीसी भन्दा बढी तातो उत्पन्न गर्दछ जसले यसलाई ठूलो कास्टिंगको लागि कम उपयुक्त बनाउँदछ। योआक्रामक मौसममा कम टिकाऊ हुन्छ । यसको बजार मुल्य पीपीसी भन्दा महँगो। उत्पादन प्रक्रियाको क्रममा CO2 उत्पन्न गर्दछ। यो त्यस्तो स्थानमा उपयुक्त छ जहाँ द्रुत निर्माण आवश्यक छ तर माथि उल्लेख गरिए अनुसार गर्मी वा बढी तातोको कारण ठूलो कास्टिंगको लागि उपयुक्त हुँदैन। यसको प्रारम्भिक सेटिंग समय ३० मिनेट र अन्तिम सेटिंग समय २८० मिनेट हो। यसको फाइनल सेटिङ समय १२ दिनको हुन्छ तसर्थ यसको द्रुत सेटिंग समयले छिटो निर्माणमा मद्दत गर्दछ।

ओपिसि सिमेन्ट २२5 वर्ग मिटर / किलोग्राम फिनिटनेस हुन्छ। त्ययसकारण यो सिमेन्ट PPC भन्दा कम राम्रो राम्रो हुन्छ। त्यसैले यो सिमेन्टमा प्रारम्भीक शक्ति र न्यून टिकाऊपन। बजारमा ३३ ग्रेड, 43 ग्रेड, र 53 ग्रेडमा ओपीसी सिमेन्ट उपलब्ध छन्। समग्रमा यसको कार्यक्षमता पीपीसी भन्दा कम हुन्छ । यसको क्षार, सल्फेट्स, क्लोराइडहरू आदि बिरूद्ध कम प्रतिरोध हुन्छ।

पिपिसि सिमेन्ट

पि.पि.सि.को पुरा रूप पोर्टल्याण्ड पोजोलोना सिमेन्ट हुन्छ । पिपिसि सिमेन्टमा ओपीसी सिमेन्टको पोजोलानिक सामग्री थपेर तयार गरिएको हुन्छ । जसमा क्याल्सिन्ड माटो, ज्वालामुखी खरानी, फ्लाई खरानी वा सिलिका धुवाँ समावेश गरि निर्माण गरिएको हुन्छ। यसमा ढिलो हाइड्रेसन प्रक्रिया हुन्छ र यसले ओपीसी भन्दा कम तातो उत्पन्न गर्दछ। पि.पि.सि सिमेन्ट आक्रामक मौसममा अधिक टिकाऊ हुन्छ। यसको मुल्य ओपिसि सिमेन्ट भन्दा कम मुल्यमा उपलब्ध हुन्छ । ओपिसि. सिमेन्टको तुलनामा यो सिमेन्ट वातावरण मैत्री हुन्छ । यो सबै प्रकारका निर्माण कार्यको लागि उपयुक्त छ। जस्तो कि भवनहरूको अार.सी.सी. ढलान, पुलहरूको लागि सामूहिक कन्ट्रेटिंग , प्लास्टरिङ र अन्य गैर-संरचनात्मक कार्यहरू। सेटिङ हुने समय ओपिसि सिमनेन्टको तुलनामा धेरै समय लाग्ने हुन्छ । यसको प्रारम्भिक सेटिंग समय ३० मिनेट र अन्तिम सेटिंग समय ६०० मिनेट हो। यसको ढिलो सेटिंग समयले अझ राम्रो बनाउन मद्दत गर्दछ।

यसको फाइनल सेटिङ समय २५ दिनको हुन्छ ।ओपीसी सिमेन्ट ३०० वर्गमीटर / किलोग्रामको फिटनेस छ। त्यसकारण यो ओपीसी भन्दा राम्रो हुन्छ। पीपीसी सीमेन्टको निर्दिष्ट ग्रेड उपलब्ध छैन। यसमा अल्कालिस, सल्फेट्स, क्लोराइडहरू आदि बिरूद्ध उच्च प्रतिरोध हुन्छ।

अन्त्यमा

अव प्रश्न उठ्न सक्छ कि कुन कुन स्थानमा ओपिसि सिमेन्ट प्रयोग गर्ने ? यो घरको विम, कोलम, स्लाब, इन्डस्ट्रियल कम्पलेक्स, बाटोको पुल, अग्ला भवन अादिमा प्रयोग गर्न सकिन्छ । त्यस्तै गरी पिपिसि सिमेन्ट इटा तथा वाल जडान, प्लास्टरिङ, टायलिङ, वाटर प्रुफिङका, साना तथा मझाैला साइजका घर लागि उपयुक्त मानिन्छ ।

Categories
ब्लग

के तपाइ घर बनाउदै हुनुहुन्छ ? कस्तो ठाउँमा टाइल, मार्वल र ग्रिनाइड लगाउने भन्नेबारे अलमलमा हुनुहुन्छ ?

के तपाइ घर बनाउँदै हुनुहुन्छ र घरको भुईँमा टाइल, मार्बल र ग्रिनाइड के लगाउने भन्ने बारेमा दुबिधामा हुनुहुन्छ ? आउनुहोस् आज तपाईँलाई हामी यी तिन मध्ये तपाइको घरको कुन स्थानको भुईँमा के लगाउने भन्ने प्रश्नको जवाफ खोज्न मद्दत गर्नेछौँ ।

ग्रिनाइड

सबैभन्दा पहिला हामी ग्रिनाइडको बारेमा चर्चा गरौँ । ग्रिनाइड एउटा कडा र लामो समय सम्म टिक्ने पत्थर हो । साधारण तया यसको कडापन नाप्नको लागि Mohs Hardness Scale प्रयोग गरिन्छ । यसमा कडापनको मात्रा मापन गर्न १ देखि १० सम्मका अङ्क रहेको हुन्छ र यस स्केलद्वारा कुनै पनि चिजको कडापन मापन गरिन्छ । यस स्केलमा तल्लो अङ्क १ ले कुनै पनि बस्तुको तल्लो कडापन र १० अङ्कले सबैभन्दा बढी कडापन भन्ने जनाउँदछ । यो मोह स्केलमा ग्रिनाइडको मापन अङ्क ७ हुन्छ भने डायमन्डको १० अङ्क हुन्छ । त्यसैले तपाइहरू सबैलाई पक्कै पनि थाहा हुनु पर्छ कि डायमन्ड सबैभन्दा कडा पत्थर हो । यसै बाट थाहा हुन्छ कि ग्रिनाइड कत्तिको कडा हुन्छ ।

अब तपाईँलाई थाहा भयो कि ग्रिनाइड कति कडा हुन्छ । आउनुहोस् अब हामी तपाईँलाई घरको कुन स्थानमा ग्रिनाइड लगाउन उपयुक्त हुन्छ त्यसको बारेमा जानकारी दिन्छौँ । साधरणतया घरको पोर्च, गाडी पार्किङ क्षेत्रमा ग्रिनाइड लगाउन उपयुक्त मानिन्छ । दोस्रो, घरको सिँढी । घरको सिँढीमा तपाइ मार्बल पनि लगाउन सक्नुहुन्छ तर मार्बल लगाइसकेपछि त्यसलाई घोट्नुपर्ने हुँदा कुना कुनामा घोट्न समस्या हुन्छ । यही कारणले सिँढीमा ग्रिनाइड लगाउनु उत्तम हुन्छ । किनकि ग्रिनाइड बजार बाट किनेर ल्याउँदा पहिल्यै चिल्लो पारिएको हुन्छ र त्यसलाई तपाइ आफ्नो साइज अनुसार काटेर सिधै लगाउन सक्नुहुन्छ । लगाइसकेपछि त्यसलाई घोट्नुपर्ने आवश्यकता पर्दैन । तर यसमा तपाइले ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने यसको जोइन्ट भएको स्थानमा बराबरको लेबलमा जोइन्ट गर्नु पर्दछ । किनकि जोइन्ट थोरै मात्र तल माथि भयो भने त्यो खुट्टामा लाग्न सक्दछ । साथै त्यसको फिनिसिङ पनि राम्रो देखिँदैन । तर मार्बलमा भने लेबलमा तल माथि भएता पनि घोटेर एउटै लेबलमा ल्याउन सकिन्छ । तर ग्रिनाइडमा घोट्न नमिल्ने हुँदा लगाउँदा नै लेबल मिलाएर लगाउनु पर्ने हुन्छ ।

यदि तपाइ ग्रिनाइड खरिद गर्दै हुनुहुन्छ भने यसका बारेमा केही आधारभूत जानकारी हुन जरुरी हुन्छ । सबै भन्दा पहिलो कुरा त यसको मूल्य हो । यसको मूल्य मार्बलको तुलनामा महँगो हुन्छ । बजारमा यो विभिन्न रङ्गमा उपलब्ध हुन्छ । यसको रङ्गको यसको मूल्य निर्धारण गरेको हुन्छ । जस्तो कि यसको सेतो, रोजी पिङ्क तथा हल्का रङको मूल्य कम पर्दछ भने गाढा कालो, खैरो, रातो रङ्गको मूल्य बढी पर्दछ । जुन कुनै रङको भएता पनि कडापन एउटै हुन्छ मात्र रङ्गको आधारमा मूल्य कम र धेरै पर्ने हुन्छ । तपाईँलाई थाहा नहुन सक्छ कि ज्वालामुखी विस्फोटबाट निस्केको लार्भा चिसो भई जमेको पत्थर वाट ग्रिनाइड बन्दछ । यो Quartz +Feldspar मिलेर ग्रिनाइड बन्दछ । यही कारणले गर्दा ग्रिनाइडमा एसिड वा केमिकल पर्दा कुनै असर पर्दैन । त्यस कारण हामी तपाईँलाई यो सल्लाह दिन्छौ कि किचनको स्लाब बनाउँदा ग्रिनाइड नै लगाउनुहोस् । यसमा कागतीको रस, भिनेगर, एसिड पर्दा असर गर्दैन ।

ग्रिनाइडमा एउटा सानो समस्या हुन्छ जसलाई तपाइले ध्यान दिनुपर्ने हुन्छ । त्यो हो यसको चिल्लोपन । यसको कारणले सिँढीमा चिप्लने सम्भावना हुने हुँदा टेक्ने ठाउँमा डिजाइनदार ग्रिप बनाउँदा उपयुक्त हुन्छ । यसको अर्को बेफाइदा भनेको यो केही महँगो पत्थर हो । यसको सुरुवाती मूल्य जो कसैलाई मन नपर्न सक्दछ । किनकि सुरुवाती मूल्यका ग्रिनाइड हल्का रङ्गको हुने हुँदा जो कसैलाई यो मन नपर्न पनि सक्दछ । साथै तपाईँलाई मन पर्ने रङको मूल्य महँगो पर्दछ । आजकाल बजारमा व्यापारीहरूले धेरै नाफा कमाउन उद्देश्यले सस्तो रङ्गको मार्बलमा गाढा रङ लेपन गरेर बेच्ने गर्दछन् । तपाईँलाई लाग्न सक्छ कि कम मूल्यमा गाढा रङको ग्रिनाइड पाए। तर त्यस किसिमको ग्रिनाइड केही समय पश्चात् त्यसको रङ्ग हराएर हल्का रङ्गमा परिणत हुन्छ । यहाँ हामीले तपाईँलाई नेचुरल रङ छुट्टाउने तरीका बताउँदै छौँ । जुन ग्रिनाइड नेचुरल रङको हुन्छ त्यसको अगाडी र पछाडिको रङ एउटै हुन्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको ग्रिनाइडको प्रकार हो । खरिद गर्दा यकिन हुनु पर्दछ कि त्यो राजस्थानको ग्रिनाइड हो या साउथको ग्रिनाइड हो ।

मार्बल

मार्बल चुन ढुङ्गाबाट बनेको पत्थर हो । यसको कडापन Mohs Hardness Scale मा ३ देखि ५ को बिचमा हुन्छ । यसबाट थाहा हुन्छ कि ग्रिनाइड र मार्बल कुनमा बढी कडापन हुन्छ । यसको अर्थ यो हो कि ग्रिनाइडको तुलना मार्बल कम कडा हुन्छ । आउनुहोस् अब मार्बल कहाँ कहाँ लगाउन सकिन्छ त्यसको बारेमा चर्चा गरौँ । यो पनि ग्रिनाइड जस्तै प्राकृतिक पत्थर हो । तर यो चिसो हुन्छ । तपाईँलाई लाग्न सक्छ कि यो चिसो किन हुन्छ ? किनकि यो चुन ढुङ्गाबाट बनेको हुँदा यसले चिसोपन रोकेर राख्दछ । यसै कारणले गर्दा गर्मी हुने स्थानमा मार्बल लगाउनु उपयुक्त हुन्छ ।

मार्बल प्राकृतिक ढुङ्गाबाट बनेको हुँदा जुन स्थानमा लगाइन्छ त्यो भाग आकर्षक देखिन्छ । मार्बल किन्दा तपाईँलाई मन पर्ने रङ छनोट गरेर लगाउनुहुन्छ । तर त्यसलाई घोट्दा अर्कै रङको बन्न जान्छ । त्यस कारण तपाइ मार्बल किन्न जाँदै हुनुहुन्छ भने मार्बल सम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिलाई सँगै जानु उपयुक्त हुन्छ । मार्बलको मूल्यको अवस्था हेर्ने हो भने ग्रिनाइडको तुलना कम मूल्यमा पाइन्छ । यसको मूल्य ग्रिनाइडको भन्दा उल्टो हुन्छ अर्थात् गाढा रङको ग्रिनाइडको मूल्य महँगो हुन्छ भने गाढा रङ्गको मार्बलको कम मूल्य हुन्छ । त्यस्तै हल्का वा सेतो रङको मूल्य महँगो हुन्छ । मार्बलको गुणस्तरको चर्चा गर्दा यसमा चाँडो फोहर देखिने, कोरिने हुन्छ भने लगाउनका लागि पनि धेरै समय लाग्ने हुन्छ । किनकि मार्बल लगाइसकेपछि घोट्न पनि त्यत्तिकै समय लाग्दछ । मार्बलको अर्को नकारात्मक पक्ष भनेको यसमा एसिड, भिनेगर, तेल पर्‍यो भने यसमा प्रतिक्रिया भएर दाग बस्दछ । यसको अर्को पक्ष कोरिएको दाग लागेको स्थानमा पुनः घोटी नयाँ र चम्किलो बनाउन सकिन्छ तर बारम्बार घोट्नका लागि समस्या हुन सक्दछ । यदि तपाइको घरको स्थानमा १२ महिना नै चिसो हुन्छ भने त्यस स्थानमा यो लगाउन उपयुक्त हुँदैन ।

टाइल

बजारमा धेरै प्रकारका टाइलहरू पाइन्छन् । जस्तो कि सेरामीक टाइल, पोर्सिलेन टाइल, सिमेन्ट टाइल, मार्बल टाइल, ग्लास टाइल आदि । त्यस भित्र पनि सिङ्गल चार्जर, डबल चार्जर , फुल बडी । टाइल निश्चित तापक्रममा पकाएर निर्माण गरिन्छ । यसलाई पकाउँदा धेरै मात्रामा कार्बन डाइअक्साइड वातावरणमा फैलिन्छ । यो हाम्रो पर्यावरणको लागि राम्रो होइन । टाइलको कडापनको तुलना गर्दा टाइल प्रकाश पर्ने कोठामा लगाउँदा यसले कोठाको तापक्रम बढाउने गर्दछ । यसको मुख्य फाइदाको चर्चा गर्दा यो निकै कम समयमा धरै स्थानमा लगाउन सकिन्छ । तपाइले मार्बल लगाउनुभयो भने त्यसले धेरै लिने गर्दछ । चाँडो निर्माण सम्पन्न गर्नका लागि आजकाल टाइलको प्रयोग धेरै मात्रामा गर्ने गरिन्छ । मानै यदि तपाइ आफ्नो कोठामा तपाईँलाई मन परेको टाइल लगाउनु भयो ३, ४ वर्ष पछि कुनै यौटा भाग चर्कियो र त्यसलाई बदल्न खोज्नुभयो भने त्यो बजारमा उपलब्ध नहुन सक्छ किनकि टाइल कम्पनीले त्यस किसिमको टाइल उत्पादन बन्द गरिसकेको हुन सक्दछ, यस्तो अवस्थामा तपाइले सबै टाइललाई निकाली नयाँ टाइल लगाउनु पर्ने हुन्छ । यो यसको अर्को बेफाइदा हो । अव लागौँ यसको मूल्य तर्फ । यो मार्बलको तुलना कम मूल्यमा बजारमा पाइन्छ । तर मूल्य टाइलको प्रकार र आकारमा भर पर्दछ ।